तपाईंहरुले चाहेको यहाँ सर्च गरेर पाउनुहोस्

Topics :

Latest Post

विश्वकै सबैभन्दा ठूलो लिफ्ट, एकै पटकमा २ सय ३५ जना बोक्न सक्ने

६ वैशाख, काठमाडौं । झण्डै एउटा स्टुडियो अपार्टमेन्ट जति आकारको यो विश्वकै सबैभन्दा ठूलो यात्रुबाहक एलेभेटर (लिफ्ट)को वजन १६ टन छ । नौ वटा स्टिल केबलले धानेको यो लिफ्टले एक पटकमा २ सय ३५ जना मानिस बोक्नसक्छ।

फिनल्याण्डको एलेभेटर कम्पनी कोनेले दुई वर्षअघि नै भारतको मुम्बइस्थित जियो वर्ल्ड सेन्टरको भवनमा संसारकै ठूलो यो एलेभेटर जडान गरेको थियो ।

उक्त बहुप्रतिष्ठित सम्मेलन केन्द्रमा विभिन्न समारोह तथा मेलाहरुमा सहभागी हुने ठूलो संख्याका मानिसहरुलाई बोक्नका लागि उक्त लिफ्टको डिजाइन गरिएको हो ।

२५.७८ वर्गमिटरको उक्त लिफ्टमा यात्रा गरिरहँदा उक्त भवन परिसरको ठूलो आकारमा दृश्य तथा सुन्दर बगैँचा समेत देख्न पाइन्छ ।

यो एलेभेटर पुली बिम प्रणालीमा आधारित छ, जसमा १८ वटा ठूलो आकारका पुली, ९ वटा स्टिल केबल रहेका छन् ।

विश्वकै ठूलो यो यात्रुबाहक लिफ्टमा चार प्यानल भएको काँचको ढोका, बाहिरको सुन्दर दृश्य देखिने काँचकै भित्ता र क्रिस्टल जडित सिलिंग रहेको छ । भवनको पाँचौँ तलासम्म मात्रै पुग्ने यो लिफ्टको गति १ मिटर प्रतिसेकेण्ड रहेको छ । यसभित्र यात्रुहरु बस्नका लागि दुईवटा आरामदायी सोफा पनि राखिएको छ।

कोने कम्पनीले यो भिमकाय लिफ्टको मूल्य हालसम्म पनि सार्वजनिक गरेको छैन । एजेन्सीको सहयोगमा



from विचित्र संसार – Online Khabar https://ift.tt/FqQKwpG

फरक-फरक अस्पतालमा महिलाले जन्माइन् जुम्ल्याहा, जुम्ल्याहाको उमेरमा २२ दिनको अन्तर !

४ वैशाख, काठमाडौं । एकजना महिलाले २२ दिनको फरकमा जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ती दुई बच्चाको जन्म पनि दुई फरक अस्पतालमा भएको छ।

डाक्टरहरुलाई समेत अचम्ममा पारेको यो घटना बेलायतमा भएको हो । कायले डायल नामकी महिलाले ती जुम्ल्याहालाई जन्म दिएकी हुन् । उनले भनेकी छिन् : अहिलेसम्म मैले बेलायतमा एउटा पनि यस्ती महिला भेटेकी छैन जो २२ दिनसम्म लड्न सकून् ।

मेट्रो डट को डट युकेका अनुसार सन् २०२० मा डायल गर्भवती भएकी थिइन् । उनी पूर्णरुपमा स्वस्थ थिइन् । तर त्यसपछि उनमा स्वास्थ्य समस्या देखियो । तत् पश्चात् उनले एक अस्पतालमा पहिलो बच्चा जन्माइन् सामान्य प्रसूतिबाट । त्यसबेला डाक्टरहरुले उनको पेटमा रहेको दोश्रो बच्चा बाँच्ने सम्भावना निकै कम रहेको बताएका थिए ।

उनले केही घण्टामै अर्को बच्चालाई जन्म दिने बताइएको थियो । तर उनको स्वास्थ्यमा सुधार आयो । त्यसैले २२ दिनपछि मात्रै एक अर्को अस्पतालमा शल्यक्रियाबाट दोश्रो बच्चा जन्माइन् । ती जुम्ल्याहा बीचको जन्मदिनको अन्तरलाई लिएर डाक्टरहरु पनि तिनछक परे ।

डायल भन्छिन्, ‘आफ्नो पहिलो बच्चालाई जन्म दिएपछि डाक्टरहरुले मलाई तपाइँ घर जानसक्नुहुन्छ भन्दा म अचम्ममा परेँ । आजसम्म मैले बेलायतमा यस्तो कुनै महिला भेटेकी छैन जो २२ दिनको अन्तरालई झेल्न पाए । मलाई एउटा फरक अस्पतालमा अर्कै डाक्टरकोमा पठाइयो ।

दुई बच्चाको जन्मको बीचको समयमा मेरो दैनिक स्वास्थ्य जाँच भैरहन्थ्यो । ती हरेक दिनहरु इसरी बितिरहेका थिए कि मलाई वास्तवमा ती क्षणहरु सपना जस्तै लाग्दथे । जब दोश्रो बच्चा एस्ट्रो जन्मियो तब मलाई विश्वास नै भैरहेको थिएन कि ऊ त्यति लामो समयसम्म कसरी जिवित रहन सक्यो ।’

अहिले दोश्रो बच्चा २ वर्षको भैसकेको छ । उसको मुटुमा प्वाल छ र आँखामा पनि समस्या छ । तर दुःखको कुरा, दोश्रो बच्चा जन्मिएको दुई हप्तापछि पहिलो बच्चा आर्लोको मृत्यु भएको थियो । एजेन्सीको सहयोगमा 



from विचित्र संसार – Online Khabar https://ift.tt/xXAYI3m

पत्ता लाग्यो रोमान्टिक पार्टनरको सबैभन्दा खास विशेषता

अहिलेको जमानामा टिकाउ प्रेम सम्बन्ध तथा डेटिङका विषयहरु झनै जटिल बन्दै गएका छन् ।

सतही प्रतिस्पर्धा, रियालिटी शो तथा एपहरुका माध्यमबाट जुन सम्बन्धहरु बन्दछन् ती टिकाउ हुँदैनन् । टिकेता पनि सम्बन्ध राम्रो रहँदैन ।

यस्तोमा उपयुक्त रोमान्टिक पार्टनर खोज्नु निकै गाह्रो हुन्छ । किनकि आम रुपमा मानिसहरु शारीरिक बनोट तथा लुक्स, अनुहार, पैसा वा नाम देखेर आकर्षित हुन्छन् ।

तर, विज्ञानका अनुसार टिकाउ सम्बन्धका लागि यी सबै चिज आवश्यक छैन । रोमान्टिक पार्टनरका सबैभन्दा खास कुरा केही अरु नै हुन्छन् ।

ब्राजिलमा गरिएको एक सर्भेका अनुसार रोमान्टिक पार्टनरको कसीमा अनुहार, जीउडाल, लम्बाई चौडाइ, शरीरको आकार, पैसा आदिजस्ता कुराले अर्थ राख्दैन ।

युनिभर्सिटी अफ साओपाओलोका मनोवेत्ता जोआओ फ्रान्सिस्को गोस ब्रागा ताकायानागीका अनुसार रोमान्टिक पार्टनरलाई सबैभन्दा जरुरी विशेषता भनेको बुद्धिमत्ता र दयालुपनाु अर्थात् इन्टेलिजेन्स र काइन्डनेस हो ।

८ सय जना मानिसमा गरिएको उक्त सर्भेक्षणका आधारमा शोधकर्ता जोआओ भन्छन् – यदि तपाईंलाई रोमान्टिक पार्टनर चाहिएको छ भने तपाईंले आफूलाई बुद्धिमान बनाउनुहोस् र दयालु व्यक्तित्वको विकास गर्नुहोस् । यसबाट सफलता प्राप्त हुने सम्भावना बढ्दछ।

जोआओ र उनको टिमले १८ देखि ६४ वर्ष उमेरका करिब ८ सय जना मानिसमा सर्भे गरेका थिए । उनीहरुले फरक फरक गुण भएका रोमान्टिक पार्टनरहरुलाई छानेका थिए । त्यसमा शारीरिक आकर्षण, सामाजिक आर्थिक स्थिति, स्वास्थ्य, दयालुपना तथा बुद्धिमत्ताका विकल्प राखिएको थियो । जब ती विन्दुहरुमा उच्च बजेटको अवस्थामा मानिसहरुलाई छनोट गर्न लगाइयो, तब मानिसहरु हरेक विन्दुमा तयार भए । तर कम बजेटको अवस्थामा भने बुद्धिमत्ता र दयालुपनाको विकल्प सबैभन्दा अगाडि रहे ।

अधिकांश मानिसहरु आफ्नो रोमान्टिक पार्टनरसँग दीर्घकालीन सम्बन्ध चाहन्छन् । केवल कम समयका लागि मात्रै रोमान्टिक पार्टनरको खोजी गर्ने मानिसको संख्या निकै कम हुन्छ ।

रोमान्टिक पार्टनरको हकमा सामाजिक आर्थिक स्थितिलाई मानिसहरुले सबैभन्दा कम महत्व दिए । उनीहरुका अनुसार पैसा आवश्यक छ, तर यो नै सबैचिज होइन ।

यो अध्ययन हालै आर्काइभ्स अफ सेक्सुअल बिहेवियर जर्नलमा प्रकाशित भएको छ । जसमा शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् कि उपयुक्त रोमान्टिक पार्टनरका लागि सबैभन्दा महत्वपूर्ण भनेको उसको स्वास्थ्य, बुद्धिमत्ता र दयालुपना हो ।

जहाँसम्म पैसाको कुरा छ वा सामाजिक ओहोदाको कुरा छ, त्यसले त केवल उसको दिमागलाई फरक फरक तरिकाले चल्ने प्रक्रियालाई देखाउँछ । यी कुराले उसको दीर्घायूको अपेक्षा गर्न सकिन्छ तथापि समझदारी प्रेम र स्वास्थ्य हासिल हुन सक्दैन ।



from विचित्र संसार – Online Khabar https://ift.tt/RQdsZVW

एक कम्पनीले ल्यायो बेखुसी बिदाको नियम, मूड नभए अफिस नगए हुन्छ

जागिरे मानिसहरुको एउटा दु:ख हुन्छ । आफ्नो निजी जीवनमा चाहे जतिसुकै समस्या आइरहेको किन नहोस् अफिस जानैपर्छ र त्यहाँ गएर काम गर्नैपर्छ । अर्थात् कुनै घरेलु समस्या होस्, कसैसँग झगडा भएको होस् वा मन दुखेको किन नहोस्, त्यस्तो अवस्थाको कर्मचारीबाट पनि कार्यालयमा सामान्य अवस्थामा जस्तो कार्यसम्पादनको अपेक्षा गरिन्छ ।

व्यक्तिको निजी मामिलाले उसको काममा कुनै असर पर्नु हुँदैन भन्ने मान्यता राखिन्छ । तर, अब समय बदलिएको छ । मानिसको निजी समस्या वा उसको मूडले पनि कार्यालयमा उसको काममा असर पार्ने यथार्थलाई हृदयंगम गर्न थालिएको छ । यसको प्रमाण हो चीनको एउटा कम्पनी ।

उक्त चिनियाँ कम्पनीले आफ्ना कर्मचारीलाई बेखुसी बिदा (unhappy leave) दिन सुरु गरेको छ ।

चीनको हेनान प्रान्तस्थित एक सुपरमार्केट चेन पेंग डोंगले यस्तो गज्जबको काम सुरु गरेको हो ।

कम्पनीका मालिक तथा चिनियाँ रिटेल टाइकुन यु डोंगलाइले आफ्ना कर्मचारीहरुको निजी जीवन तथा व्यवसायिक जीवनमा उत्कृष्ट सन्तुलन हासिल गर्नमा मद्दत गर्नका लागि बेखुसी बिदाको सुरुआत गरेको घोषणा गरेका छन् ।

चिनियाँ सुपरमार्केट सप्ताहका क्रममा डोंगले आफ्नो सुपरमार्केटमा कार्यरत कर्मचारीहरुका लागि १० दिनसम्मको बेखुसी विदाको घोषणा गरेका हुन् । अर्थात् काममा जानका लागि मूड ठीक नभएको अवस्थामा पेंग डोंगका कर्मचारीले १० दिनसम्मको ‘अनह्याप्पी लिभ’ लिन पाउनेछन् ।

यु डोंगलाईले भनेका छन्- मेरा सबै कर्मचारीलाई स्वतन्त्रता प्राप्त होस् भन्ने मैले चाहन्छु । हरेक जीवनमा यस्तो क्षण आउँछ जब हाम्रो मन खुसी हुँदैन । त्यसैले मन दु:खी भएको बेला काममा नआउनुहोस् । कर्मचारीहरुले आफ्नो आरामको समय आफैंले छानुन् र उनीहरु सबैलाई कामभन्दा बाहिर पर्याप्त आराम मिलोस् ।

उनका अनुसार जुनसुकै कर्मचारीले बेखुसी बिदा मागेको खण्डमा त्यसलाई अस्वीकार नगरिने बताएका छन् ।

बेखुसी बिदाको अवधारणालाई चिनियाँ सोसल मिडियामा निकै समर्थन प्राप्त भैरहेको छ । त्यति राम्रो हाकिम र कार्यसंस्कृतिलाई देशभर प्रचारित गर्नुपर्ने सोसल मिडिया प्रयोगकर्ताहरुले बताएका छन् । कतिपयले त आफूले अहिलेको काम छाडेर सोही कम्पनीमा काम गर्न इच्छुक रहेको पनि उल्लेख गरेका छन् ।

स्मरण रहोस् कार्यस्थलको चिन्ता सम्बन्धमा गरिएको एक सर्भेक्षण अनुसार चीनमा ६५ प्रतिशतभन्दा धेरै कर्मचारीहरु कामले थाकेका हुन्छन् बेखुसी महसुस गरिरहेका हुन्छन् ।

आफ्ना कर्मचारीलाई बेखुसी बिदा दिने यू ले गत वर्ष नै लामो समयसम्म कर्मचारीहरुलाई काममा लगाउने चिनियाँ कम्पनीका व्यवस्थापकहरुको आलोचना गर्दै कर्मचारीहरुलाई ओभरटाइम काममा लगाउनु अनैतिक हुनुका साथै अन्य मानिसहरुको विकासका अवसरको पनि हनन भएको बताएका थिए।

उनको रोजगार नीति अनुसार कर्मचारीहरुालई दिनमा ७ घण्टा काम, सप्ताहन्तमा छुट्टी, ३० देखि ४० दिनको वार्षिक बिदा र नयाँ वर्षमा थप पाँच दिन बिदा दिइन्छ ।

आफ्नो कम्पनीको भविष्यका बारेमा उनी भन्छन् – हामी ठूलो बन्न चाहँदैनौं । हाम्रा कर्मचारीहरु स्वस्थ तथा आरामदायक जीवन जिउन भन्ने हाम्रो चाहना हो र कम्पनीले पनि सोही अनुसार काम गरिरहेको छ ।



from विचित्र संसार – Online Khabar https://ift.tt/AnxEGVs

१० खर्ब झ्याउँकिरीले अमेरिकामा आक्रमण गर्दै

यो अप्रिल महिनाको अन्त्य सम्ममा अमेरिकाका विभिन्न १६ वटा राज्यमा झ्याउँकिरीको आक्रमण हुनेवाला छ ।

अंग्रेजीमा सिकाडा भनिने झ्याउँकिरीका करीब १० खर्ब बथानले अमेरिकामाथि आक्रमण गर्नेछन् । त्यसबाट ठूलो परिमाणमा बालीनालीमा क्षति पुग्न सक्नेछ र यातायात समेत प्रभावित हुनसक्छ।

 झ्याउँकिरी विभिन्न दुईवटा वर्गका हुन्छन् । एउटा समूहको नाम ब्रूड चौधौं हो, जसलाई ग्रेट साउदर्न ब्रूड पनि भनिन्छ । त्यस्तै दोस्रो वर्ग चाहिं ब्रूड तेह्रौं हो । यसलाई नर्दन इलिनोय ब्रूड पनि भनिन्छ । डरलाग्दो के भने यसपटक यी दुई ब्रूड एकसाथ बाहिर निस्किंदैछन् । ब्रूड भनेको अण्डा वा बच्चा । केही दिनमै ती अण्डाबाट किरा निस्किएर उड्दछन् ।

झ्याउँकिरी किराको प्रकोप हुने एउटा चक्र हुन्छ । अर्थात् निश्चित समयमा यी किरा बाहिर आउँछन् । तर, २२१ वर्षमा पहिलोपटक अहिले दुवै समूहका झ्याउँकिरी एकसाथ अमेरिकामा घुसपैठ गर्न लागेका हुन् ।

नर्दन इलिनोय ब्रूडले १७ वर्षमा एकटपक हमला गर्दछ । जबकि ग्रेट साउदर्न ब्रूडले हरेक १३ वर्षमा ।

यी किराहरु यसपटक २.५४ करोड वर्गकिलोमिटर क्षेत्रमा फैलिनेछन् । यहाँ हरेक एक इन्च क्षेत्रमा एउटा किराको उपस्थिति हुनेछ । यी सबै किराहरुलाई हरेक एक इन्चको दूरीमा राख्दा त्यो यति लामो लाइन बन्नेछ कि पृथ्वीबाट ३३ पटक चन्द्रमामा ओहोर दोहोर गर्न सकिनेछ ।

झ्याउँकिरीले अमेरिकाको जंगल क्षेत्र, खेतबारी तथा हराभरा सबै ठाउँमा नोक्सान पूराउनेछन् ।
अप्रिल महिनाको अन्त्यमा यी किराहरु जमिन बाहिर निस्किनेछन् । यो पूर्णरुपमा तापक्रममा निर्भर गर्दछ । तर त्यसअघि हल्का वर्षा तथा आद्रता आवश्यक हुन्छ । यी सबै वातावरणीय अनुकूलता हुँदा किराहरु तिव्र रुपमा बाहिर निस्किनेछन् । भोकाएका ती झ्याउँकिरीहरु सिधै बालीनाली, फलफूल तथा हरेक रुखहरुमाथि आक्रणमा उत्रिनेछन्, प्रजनन गर्नेछन् र बच्चालाई हुर्काउनेछन् ।

झ्याउँकिरीको आक्रमणबाट अमेरिकाको लुसियाना, दक्षिणी अर्कन्सस, अलाबामा, मिसिसिपी, उत्तरी जर्जिया, साउथ क्यारोलिना, टेनेसी, मिसौरी, इनिलोय, केन्टकी, इण्डियाना, विसकन्सिन तथा अयोवा राज्यहरु प्रभावित हुनेछन् । यो आक्रमण अप्रिलको अन्तिमबाट सुरु भएर ६ हप्तासम्म जारी रहनेछ ।

यी झ्याउँकिरीहरुले मानिसलाई आक्रमण गर्ने तथा रोगब्याधी सार्ने आदि गर्दैनन् । तर निकै ठूलो आवाज निकाल्छन् । यिनीहरु न त राम्रोसँग उड्न जान्दछन्, न त राम्रोसँग कतै अवतरण गर्न नै । यिनीहरु यत्रतत्र खस्दछन् र खसेको ठाउँमा चिप्लो पदार्थ छाड्दछन् र फोहोर पनि गराउँछन् ।



from विचित्र संसार – Online Khabar https://ift.tt/dMQerTz

४६ वर्षको उमेरमा पनि १८ वर्षे लुक्स ! जवान देखिने सुत्र बेचेर मनग्गे आम्दानी

ब्रायन जोन्सन नामका एकजना अर्बपति तथा प्रविधि उद्यमीले दाबी गरेका छन् कि उनले एन्टी एजिंग अर्थात् बुढ्यौली हटाउने सुत्र पत्ता लगाएका छन् ।

जवान देखिने त्यो गोप्य सुत्र उनले हरेक व्यक्तिलाई ३४३ डलरमा बिक्री सुरु गरेका छन् । आफूले त्यही कोडबाट आफ्नो जैविक उमेरलाई उल्टाउन सफल भएको जिकिर उनको छ । जसका कारण उनी आफ्नो वास्तविक उमेरभन्दा निकै जवान देखिन्छन् ।

जवान देखिने उक्त सुत्रको नाम उनले प्रोजेक्ट ब्लूप्रिन्ट राखेका छन् । त्यसमा विशेष भोजनसँगै दैनिक १०० भन्दा धेरै चक्कीहरु खानुपर्दछ ।

जोन्सनले उक्त जानकारीलाई ब्लुप्रिन्ट स्टेकको नामबाट बिक्री गरिरहेका छन् । त्यसमा ड्रिंक्स मिक्स, प्रोटिन, ८ वटा चक्की, स्नेक आयल, ६७ प्रकारका शक्तिशाली थेरापी तथा ४ सय क्यालोरी सामेल छन् ।

एक हजारभन्दा धेरै क्लिनिकल ट्रायलबाट उक्त सुत्र तयार भएको र त्यसमा आफूले निकै गहन अनुसन्धान गरेको उनको दाबी छ ।

उनका अनुसार त्यो सुत्र हरेक महिना ३४३ डलरमा किन्न पाइन्छ, जुन सामान्य खाजा खर्चभन्दा पनि सस्तो पर्ने उनले बताएका छन् ।

उनको उद्देश्य मानिसहरुको खानालाई पूर्णरुपमा बदल्नु नभई केही अत्यावश्यक सप्लिमेन्टसँग सम्बन्धित कमीहरुलाई पूरा गर्नु हो ।

सिलिक भ्यालीका पूर्वकार्यकारी जोन्सन जवान देखिने आफ्नो सनकलाई लिएर चर्चित व्यक्ति नै हुन् । आफ्नो उमेर ४६ वर्ष भएपनि अहिले १८ वर्षको जस्तो देखिने गरेको उनी बताउँछन् । साथै उक्त सुत्रको पालना गर्दा आफ्नो स्वास्थ्यमा पनि सुधार भएको उनको भनाइ छ ।

प्रोजेक्ट ब्लु प्रिन्टमा उनले ठूलो लगानी गरेका छन् । जसमा विशेष भोजन, चिकित्सा निगरानी, उपचार तथा व्यायाम छन् ।
जवान बनाउने उनको त्यो प्रडक्ट अमेरिका, अष्ट्रेलिया, क्यानडा, विभिन्न युरोपेली मुलुकहरुसँगै यूएईलगायतका २३ देशमा उपलब्ध रहेको बताइएको छ।

स्मरण रहोस् केही महिनाअघि उनले एउटा स्व विकशित कार्यक्रमको माध्यमबाट कपाल झर्न रोक्ने दाबी गरेका थिए ।



from विचित्र संसार – Online Khabar https://ift.tt/T0Xe1HV

ठ्याकै टेपजस्तो अनौठो ब्रासलेट, मूल्य साढे ५ लाख

चर्चित फेसन ब्राण्डहरु आफ्ना उत्पादन मार्फत् विभिन्न अनौठा आइडियाहरु ल्याउँछन् । कहिलेकाही ती आइडियाहरू यतिधेरै अजीव हुन्छन् कि मान्छेले केही भेउ नै पाउँदैनन् । यसपटक लक्जरी फेसन ब्राण्ड ब्यालेन्सिआगा पनि यस्तै कदमका कारण चर्चाको शिखरमा पुगेको छ ।

कम्पनीले एउटा यस्तो बहुमूल्य ब्रासलेट बजारमा ल्याएको छ जुन ठ्याक्कै बाइन्डिंग टेपजस्तो देखिन्छ । पारदर्शी टेपजस्तो देखिने यो ब्रासलेटमा ब्यालेन्सिआगाको लोगो देखिन्छ ।

हालै पेरिस फेसन सप्ताहको फल/विन्टर कलेक्सनका क्रममा यही महिनाको सुरुवातमा यो अनौठो ब्रासलेट लञ्च गरिएको हो । यसको मूल्य ४ हजार डलर वा झण्डै साढे ५ लाख रुपैयाँ रहेको छ।

मिडिया ब्राण्ड हाइस्नोबिटीले यो ब्रासलेटको एउटा टिकटक क्लिप तथा इन्स्टाग्राम रील अपलोड गरेपछि यसको चर्चा चुलिएको हो ।

यसले इन्टरनेट प्रयोगकर्तालाई आश्चर्यमा पारेको छ र मानिसहरुले यसको निकै खिल्ली उडाइरहेका छन् । उनीहरुले टेपजस्तो ब्रासलेटको मूल्य ४ हजार डलर हुनु पागलपन रहेको बताएका छन् ।

यद्यपि कम्पनीको वेबसाइटमा यो सामान हाल बिक्रीका लागि उपलब्ध छैन र यसको बिक्री मूल्य कति राखिनेछ भन्ने बारेमा पनि ब्यालेन्सिआगाले पनि केही बताएको छैन ।

स्मरण रहोस् अनौठा सामान बनाउनमा यो कम्पनी अगाडि छ । यसअघि उसले टावेल स्कर्ट लञ्च गरेको थियो, जसको मूल्य करिब एक लाख ३० हजार रुपैयाँ थियो ।



from विचित्र संसार – Online Khabar https://ift.tt/2N5UKnv

यी हुन् विश्वको सबैभन्दा होचा डाक्टर, यस्तो छ मार्मिक कहानी

काठमाडौं । संसारमा कुनै पनि चिज गर्न असम्भव छैन भन्ने कुराको ज्यूँदो प्रमाण हुन् २३ वर्षीय गणेश बरैया । निकै होँचो कदका कारण विभेदको सामना गर्नु परेपनि उनी कठीन मेहेनतबाट विश्वकै सबैभन्दा होँचो डाक्टर बन्न सफल भए।

भारतको गुजरात राज्यस्थित तलाजा ठालुकामा जन्मिएका गणेशले सानै उमेरदेखि प्रतिकूलताको सामना गर्नुपर्‍यो। जन्मिदा सामान्य नै रहेका उनी ४ वर्षको हुँदा शारीरिक असन्तु लन देखिन थाल्यो । गणेशको शरीरको अनुपातमा टाउकोको आकार निकै धेरै बढ्दै गएको अनुभूति उनका बुवाआमाले गरे । त्यसैले उनलाई डाक्टरकोमा लगियो ।

अस्पतालमा चेकजाँचपछि डाक्टरले गणेशमा उपचार नै नहुने स्वास्थ्य समस्या रहेको र अब कसैले केहीपनि गर्न नसकने बताए । त्यसपछि टाउको धेरै नबढोस् भन्नका लागि गणेशकी आमाले उनको टाउकोमा निकै कसिलो हेलमेट बाँधिदिइन् । स्कुलमा पनि छोटो कद र ठूलो टाउकोका कारण उनी खिसिट्युरीको सिकार बने । तर, उनका कतिपय असल साथीहरु पनि थिए, जसको साथ र सहयोगका कारण उनले पढाइमा ध्यान दिएर राम्रो गर्न सके ।

कृषि मजदूरको काम गरेर दैनिक २ सय भारु आम्दानी गर्ने गणेशका बुवालाई एकदिन अनौठो अफर आयो । गणेशलाई सर्कसमा लैजानका लागि १ लाख भारुको अफर गरियो । गणेशका बुवाले छोरालाई सर्कसमा पठाउन अस्वीकार गरे । तर आफ्नो छोरालाई कुनै दिन अपहरण गरेर सर्कसमा लैजान्छन् कि भनेर निकै डराए । त्यसपछि उनले गणेशलाई आफैले स्कुल लैजाने तथा ल्याउने गर्न थाले र कहिल्यै पनि एक्लै बाहिर जान दिएनन् ।

आफ्नो शारीरिक सीमितताका बाबजुत गणेश निकै महत्वाकांक्षी व्यक्ति थिए । उनलाई सानैदेखि भविष्यमा डाक्टर बन्ने इच्छा थियो । त्यसैले उनले अध्ययनमा कठिन मिहिनेत गर्दै राम्रो अंकसाथ विद्यालयको पढाइ पूरा गरे ।

त्यसपछि उनले एमबीबीएस पढ्नका लागि आवेदन गरे, प्रवेश परीक्षामा राम्रो अंक ल्याए, तर पुड्को कदका कारण उनको आवेदन अस्वीकृत गरियो ।

शरीरको उचाइ केवल ३ फिट भएको र भविष्यमा कार्यस्थलमा डाक्टरको भूमिका निभाउन नसक्ने भन्दै भारतको मेडिकल काउन्सिलले उनको आवेदन अस्वीकृत गरेको थियो ।

त्यस्तो निर्णयबाट विक्षिप्त बनेका गणेश आफ्नो विद्यालयका प्रधानाध्यापकको सहयोगमा जिल्ला अधिकारी र पछि शिक्षामन्त्रीकोमा पुगे । उनले गुजरात उच्च अदालतको ढोका पनि ढक्ढकाए । तर उनका कुनै पनि प्रयास सफल भएनन् । यति हुँदा पनि उनले हार मानेनन् । उनको मुद्दा भारतको सर्बोच्च अदालतमा पुग्यो र सर्वोच्च अदालतले अन्ततः गणेशलाई न्याय दिलाएरै छाड्यो ।

सन् २०१८ मा भारतको सर्वोच्च अदालतले गणेशलाई एमबीबीएसमा भर्ना गर्नका लागि मेडिकल काउन्सिललाई आदेश दियो । त्यसपछि उनी अर्को वर्ष भर्ना भए ।

३ फिटको उचाइ तथा १८ केजी वजन भएका गणेशले हालै आफ्नो एमबीबीएसको पढाइ पूरा गरेका छन् । उनी हाल एक अस्पतालमा प्रशिक्षार्थी डाक्टरको रुपमा काम सुरु गरेका छन् ।

यद्यपि, आफ्नो कदका कारण गणेशले अझै पनि केही विभेद झेल्नु परिरहेको छ । सुरुमा विरामीहरुले उनलाई पत्याउँदैनन् र उनीसँग खुल्न चाहँदैनन् । तर जब उनीसँग केहीबेर कुरा गर्छन् तब उनको विज्ञतामा ढुक्क हुन्छन् । यस्तो अवस्था अरु सामान्य कदका डाक्टरहरुले कहिल्यै भोग्नु पर्दैन । उनलाई बिरामीहरुको यस्तो व्यवहारमा बानी परिसकेको छ र त्यसलाई सामान्य रुपमा लिन्छन् ।

तर, गणेशले गिनिज बुकमा नाम लेखाउन बाँकी नै छ । तर, विश्वको सबैभन्दा होँचो डाक्टरको रुपमा उनको चर्चा चुलिएको छ । एजेन्सीको सहयोगमा



from विचित्र संसार – Online Khabar https://ift.tt/kfe3WhL

घरको काम गरेबापत पूर्वपत्नीलाई डेढ करोड भुक्तानी गर्न अदालतको आदेश

डिभोर्सपछि पुरुषले आफ्नी पूर्वपत्नीलाई अंश तथा मानाचामल दिनका लागि अदालतले फैसला गर्ने गरेको त सामान्य हो । तर, स्पेनको एक अदालतले भने महिलाले वैवाहिक सम्बन्धमा रहँदा घरायासी काम गरेबापतको रकम समेत पूर्वलोग्नेबाट भराउने आदेश दिएको छ ।

स्पेनको पोन्टेभेड्रास्थित एक प्रान्तीय अदालतले २६ वर्षसम्म घरायासी काम गरेकी आफ्नी पूर्वपत्नीलाई ८८ हजार २५ यरो अर्थात् करिब १ करोड ४० लाख रुपैयाँ तिर्नका लागि ती महिलाका पूर्व पतिलाई आदेश दिएको छ ।

नाम नखुलाइएका ती महिला र पुरुषबीच सन् १९९६ मा बिहे भएको थियो । सन् २०२२ मा उनीहरुबीच डिभोर्स हुने बेलासम्म पत्नी चाहिंले परिवारको घरभन्दा बाहिर केवल २०५ दिनसम्म मात्र काम गरेकी थिइन् र अरु सबै समय छोरी हुर्काउन तथा अन्य घरायासी कामका लागि आफ्नो घरभित्रै घरधन्दाको काम गर्न बाध्य भइन् ।

डिभोर्सपछि लोग्ने चाहिं त्यहीँ पारिवारिक घरमा बसे । तर, महिला भने बाहिर अर्को भाडाको घर खोज्नुपर्‍यो । साथै जिविका चलाउनका लागि उनले तत्कालै जागिर खोज्नुपर्‍यो । तर, उनले २६ वर्षसम्म पूरै गृहिणी बनेर बिताएकाले उनले सामाजिक सुरक्षा पेन्सन पनि निकै कम पाउनेछिन् । तर, उनले घर धानिदिएका कारण आफ्नो व्यवसायिक करिअरमा पूर्ण रुपमा लाग्न पाएका कारण उनको पूर्वपतिको पेन्सन भने धेरै आउनेछ। त्यसैले उनले २६ वर्षसम्म लोग्नेको घरमा घरधन्दा गरेबापतको पारिश्रमिक वा क्षतिपूर्ति माग गरिन् ।

सुरुको अदालतले उक्त मुद्दामा पूर्वलोग्नेले आफ्नी ती पूर्वपत्नीलाई एक लाख २० हजार युरो तिर्नुपर्ने फैसला गरेको थियो । तर, यसमा चित्त नबुझाएर दुवै पक्षले पुनरावेदन गरेका थिए ।

पुरुष चाहिं पूर्वपत्नीलाई उनले गरेको घरधन्दाबापत रकम तिर्न राजी थिए र त्यस्तो रकम ६० हजार युरो कायम होस् भन्ने चाहन्थे । तर, पूर्वपत्नीको माग भने आफ्नो २६ वर्षसम्म पूर्णरुपमा समर्पित भई काम गरेकाले त्यस्तो क्षतिपूर्ति रकम २ लाख डलर बराबरको रकम होस् भन्ने थियो ।

पोन्टेभेड्रास्थित प्रान्तीय अदालतले तल्लो अदालतको फैसलामाथि पुनर्विचार गर्दै एक लाख २० हजार युरोको क्षतिपूर्ति रकमलाई घटाएर ८८ हजार २५ युरो बनायो । त्यसका अतिरिक्त ती पुरुषले पूर्वपत्नीलाई तीन वर्षसम्म मासिक ३५० डलर रकम प्रदान गर्नुपर्नेछ।

पछिल्लो समय युरोपमा दम्पतीहरुको डिभोर्सपछि महिलालाई पूर्वपतिले घरधन्दाबापतको रकम तिर्नुपर्ने घटनाहरु बढेका छन् ।

गत वर्ष स्पेनकै एक अदालतले २५ वर्षको घरधन्दाबापत पूर्वपत्नीलाई २ लाख ४ हजार युरो क्षतिपूर्ति दिन आदेश दिएको थियो भने पोर्चुगलको एक अदालतले सन् २०२१ म यस्तै खालको फैसला गर्दै ३० वर्षको वैवाहिक सम्बन्धपछि छुट्टिएकी महिलालाई उनका पूर्वपतिबाट ७२ हजार डलर बराबरको रकम क्षतिपूर्ति भराउने आदेश दिएको थियो ।



from विचित्र संसार – Online Khabar https://ift.tt/4tryhkU

इतिहास बनेको संसारकै ठूलो चस्मा संग्रहालय

जापानको राजधानी टोकियोस्थित मिनामी इकेबुकुरोको हिगासी डोरी सपिंग स्ट्रिटमा रहेको चस्मा संग्रहालय सोसल मिडियामा सर्वाधिक चर्चित ठाउँ थियो । कुनैबेला सामान्य गोदामघरको रहेको सो ठाउँ समयक्रममा यसका संस्थापक तथा मालिक युटाका टाकेइको पथ प्रदर्शनमा चस्मा विश्वकेन्द्र जस्तै बन्यो ।

चस्मा म्युजिमको सबैभन्दा चर्चित चिज भनेको एउटा भीमकाय धातुको फ्रेममा राखिएका हजारौं रंगीन चस्माको दृश्य थियो । यसको उद्देश्य नै मानिसहरुको ध्यानाकर्षित गर्नु थियो र त्यसमा यो सफल पनि भयो र इकेबुकुरोको प्रमुख पर्यटकीय आकर्षण बन्न सफल भयो ।

युटाका टाकेइले जब पहिलोपटक त्यहाँ पसल खोले, उनले विभिन्न किराना बस्तुको होलसेलरको रुपमा थिए । तर, अन्य व्यापारीहरुले सिधै उत्पादकसँग सामानहरु खरिद गर्न थालेपछि होलसेल व्यापारमा पनि नाफा हुन छाड्यो । त्यसले उनले आफ्नो व्यवसायमा पुनःअन्वेषण गर्नुपर्ने भयो । उनले चस्मातर्फ ध्यान केन्द्रित गर्न थाले । त्यसपछि उनले हजारौं चस्मासहितको आफ्नो पसललाई चस्मा संग्रहालयको रुपमा विकास गरे र त्यसको मार्केटिङ, तथा सजावटमा मोटो रकम खर्च गरे । साथै उनले आफ्नो उक्त चस्मा पसलमा पर्यटक ल्याउनका लागि टूर अपरेटरहरुसँग सम्झौता पनि गरे ।

पसलको भित्र तथा बाहिर लाखौं आइग्यलास तथा सनग्लासको सजावटका अलावा सो चश्मा संग्रहालय निकै कम मूल्यमा चस्मा पाइने ठाउँको रुपमा पनि लोकप्रिय थियो, जहाँ विभिन्न ब्राण्डका चस्माहरु ३ सय येन अर्थात् करिब २ डलर मूल्यमा पाइन्थे ।

उनले छुटसहितका सामानहरु ठूलो परिमाणमा किनेर त्यसरी कम मूल्यमा बिक्री गर्न समर्थ हुन्थे ।

उक्त चस्मा संग्राहलयको भित्तामा दशौ् हजार चश्माहरु राखिएका मात्र होइन पसलमा १ लाख २० हजार चस्माको संग्रह जुनसुकै बेला हुन्थ्यो ।

तर त्यो चस्मा संग्रह इतिहासको पानामा सीमित हुन बेर लागेन । ५० वर्षसम्मको धमाकेदार व्यापार तथा चर्चापछि सन् २०२२ को मार्चमा युटाका टाकेइले उक्त चस्मा पसल बन्द गरको घोषणा गरे ।

संग्रहालयकै रुपमा रहेको सो चस्मा पसल बन्द गर्नुपर्नाका विभिन्न कारण थिए । यसका मालिक टाकेइ ७६ वर्षका भएका थिए र चस्मा पसल गरिराख्ने जोस जाँगर तथा कामको चाप थाम्ने सामर्थ्य उनमा रहेन ।

पसल बन्द हुनुमा कोभिड १९ को लकडाउनले पनि काम गर्‍यो । साथै चस्माको घट्दो मूल्यका कारण नाफामा उच्च गिरावट आउँदा पसलको सञ्चालन जटिल बन्यो ।



from विचित्र संसार – Online Khabar https://ift.tt/pPkfilu

आफ्नै रजश्वलाको रगत बेचेर मनग्गे कमाउने युवतीको योजना !

उनी पेशाले एक मोडेल हुन् । आफ्नो अनुहारलाई सुन्दर बनाउन तथा चम्काउनका लागि आफ्नै रजश्वलाको रगतलाई फेस मास्कको रुपमा अनुहारमा दल्ने गरेको अनौठो खुलासा २२ वर्षकी ती युवतीको छ ।

टिकटकमा Xehli G नामको अकाउन्टमा उनले आफ्नो त्यो अनौठो कामका बारेमा खुलासा गरेकी छिन् ।

ती युवतीका अनुसार उनले यस्ता हरेक काम गर्छिन् जसले उनको छालालाई राम्रो बनाओस् ।

उनी भन्छिन्- सधैं सुन्दर तथा स्वस्थ देखिन को चाहँदैन ? म यस्तै छु र मलाई लाग्छ कि धेरैजसो मानिसहरु म जस्तै छन् । फरक के छ भने राम्रो देखिनका लागि मैले अरुले भन्दा केही फरक तरिकाको प्रयोग गर्दछु ।

डेलीस्टारमा छापिएको समाचार अनुसार ती युवतीले आफ्नो रजश्वलाका बेला भएको रक्तश्रावलाई फेस मास्कका रुपमा प्रयोग गर्दछिन् ।

यसरी अनुहारको सुन्दरताका लागि प्रयोग गरिने फेस मास्कमा आफ्नै रगत प्रयोग गर्दा त्यसले पर्यावरण संरक्षणमा योगदान पुग्ने दाबी उनको छ ।

आफूलाई प्लास्टिकको प्रयोग गर्न कुनै आवश्यक नरहेको भन्दै उनले आफूले कुनै पनि चिज खेर जान नदिने र आफ्नै शरीरबाट प्राप्त हुने चिजहरुबाट आफ्नो हेरचाह गर्ने गरेको बताएकी छिन् ।

आफूले आफ्नो महिनावारीको रगत संकलन गरिरहेको र त्यसलाई बिक्री गर्ने योजना बनाइरहेको उनको भनाइ छ ।

यस्तो काम गरिरहेकी ती युवती टिकटकमा निकै चर्चित छन् र उनका फलोअर्स ५ लाखभन्दा धेरै पुगिसकेका छन् ।

आफ्नो टिकटक पोस्टमा उनले लेखेकी छिन्- मानिसहरुले आफूलाई जे सबैभन्दा राम्रो लाग्छ त्यही काम गर्नुपर्छ । मैले आफ्नो अनुहारमा आएको परिवर्तन देखेकी छु र मलाई यसको परिणाम मन परेको छ । मैले धेरै सन्देशहरु पढेकी छु, जसमा मानिसरुले भन्ने गरेका छन् कि मेरो रजश्वलाले नै उनीहरुको समस्याको समाधान गर्न सक्दछ । यस्तो होइन कि केवल मलाई मात्रै समाधान प्राप्त भएको छ । अब जो कोहीले पनि यो खरिद गर्नेछन् उनीहरुको छाला पनि मेरो जस्तै सुन्दर तथा स्वस्थ बन्दछ।

तर उनको यस्तो दाबीसँग स्वास्थ्य विज्ञहरु भने सहमत छैनन् । अनुहारको छाला चम्किलो र सुन्दर बनाउनका लागि रजश्वलाको रगत दल्ने उनको कामलाई विज्ञहरुले गलत भनेका छन् ।



from विचित्र संसार – Online Khabar https://ift.tt/q3he4y6

दक्षिण कोरियाली वैज्ञानिकले तयार पारे मासु र चिल्लो मिसिएको हाइब्रिड चामल

हामीले मासु, भात तथा घिउ मिसाएर त खुबै खान्छौं । तर, अबचाहिं घिउ र मासु खानुपर्ने छैन, भातमात्रै खाए पुग्नेछ । किनकि दक्षिण कोरियाली वैज्ञानिकहरुले मासु र चिल्लो मिसिएको चामल तयार पारेका छन् ।

दक्षिण कोरियाको योनसेइ विश्वविद्यालयका शोधकर्ताहरुले मासुको प्रोटिन र चिल्लो पदार्थ कोशिकाहरु (फ्याट सेल्स) ले युक्त हाइब्रिड चामल तयार पार्न सफल भएका हुन् । योसँगै भविष्यमा चामल नै मासुको विकल्प बन्ने देखिएको छ ।

गुलाबी रङको उक्त चामलमा सामान्य चामलमा भन्दा ८ प्रतिशत बढी प्रोटिन र ७ प्रतिशत बढी चिल्लो पदार्थ रहेको छ । यद्यपि हालका लागि वैज्ञानिकहरुले चामलमा गाईको मासुको प्रोटिन राखेका छन् र यो धेरैका लागि लागि धार्मिक रुपमा अभक्ष्य हुनसक्छ । तर यसबाट भविष्यमा अन्य जनावरको मासुबाट त्यसरी नै हाइब्रिड चामल तयार पारेर सबैले खान मिल्ने चामल तयार पार्ने बाटो खुलेको छ ।

शोधकर्तामध्येका एक पार्क सो हाइयोन भन्छन्- यस्तो हाइब्रिड चामलबाट हामीलाई चाहिने सबै खालका पोषण प्राप्त हुने कुराको कल्पना गर्नुस् त । हुनत भारतमा उच्च तहको पोषक तत्व पाइन्छ । तथापि यसमा जीवकोषहरु थप्दा त्यसको पोषक तत्वमा अझै वृद्धि हुन्छ।

शोधकर्ताहरुले प्रयोगशालामा चामलका छिद्रहरुमा जीव कोशिकाहरु कल्चर गरेर हाइब्रिड चामल तयार पारेका हुन् ।

हालका लागि उनीहरुले बधशालामा काटिएको गाईको मासु प्रयोग गरेका भएपनि भविष्यमा प्रयोगशालामै कृत्रिम रुपमा मासु उत्पादन गरी त्यसकै प्रयोग गरेर चामलाई हाइब्रिड बनाउने योजना छ । साथै उनीहरुले अन्य खालका मासु तथा माछाबाट समेत हाइब्रिड चामल तयार पार्न सकिने सम्भावनाको बारेमा अध्ययन गरिरहेका छन् ।



from विचित्र संसार – Online Khabar https://ift.tt/4i1ZUSR

गर्लफ्रेण्डको कपडा लगाएर जेलबाट भागे पुरुष कैदी

भेनेजुयलाका एकजना कुख्यात अपराधी हालै जेलबाट भाग्न सफल भएका छन् । यसका लागि उनले निकै रोचक काइदा अपनाएका छन् ।

भेनेजुयलाको काराबोबो राज्यस्थित टोकुयिटोमा रहेको एल लिबेरटाडोर जेलबाट २५ वर्षीय कैदी म्यानुएल लोरेन्जो एभिला अल्भाराडो भागेका हुन् । व्यक्तिहत्या तथा लुटपाटको अभियोगमा जेलमा रहेका अल्भाराडो गत मार्च १३ मा महिलाको भेष गरेर जेलबाट भागे ।

त्यो घटना मानिस भेटघाट गर्न आउने समयको अन्त्यतिर अर्थात् दिउसोको २ बजे भएको थियो ।

कालो वर्णको भएतापनि अल्भाराडोले लामो नक्कली कपाल तथा महिलाको पहिरन लगाएर जेलका सुरक्षाकर्मीहरुलाई छक्याएर भाग्न सफल भएका थिए । उनलाई भगाउनका लागि कपडा लगायतका चिजहरु उनकी गर्लफ्रेण्डले ल्याएको हुनसक्ने आशंका गरिएको छ।

जेलको सिसिटिभी क्यामरामा महिला पहिरनमा रहेका ती व्यक्ति जेलमा आगन्तुकले भेट्ने निर्धारित समय सकिन लागेको बेला अन्य महिलाहरुको बीचमा मिसिएर बाहिरिंदै गरेको देखिन्छ ।

कुख्यात कैदीले पहिरन बदलेर भाग्दा समेत चाल नपाउने सुरक्षा गार्डहरु छानबिनको दायरामा तानिएका छन् र ती मध्ये चारजनामाथि अनुसन्धान भैरहेको बताइएको छ ।

हालैमात्र एक सुधार केन्द्रबाट उक्त जेलमा सारिउका अल्भाराडोलाई भगाउनका लागि उनकी गर्लफ्रेण्डले सघाएको हुनसक्ने आशंका गरिएको छ । ती युवती पनि प्रहरीको वान्टेड सूचिमा रहेकी व्यक्ति हुन् ।

जेलबाट भागेका ती व्यक्ति र उनकी गर्लफ्रेण्डलाई प्रहरीले खोजी गरिरहेको भएपनि हालसम्म फेला परेका छैनन् ।



from विचित्र संसार – Online Khabar https://ift.tt/wfEMZ96

मुखबाट ६ मिनेटसम्म लगातार पानी फ्याँकेर विश्व कीर्तिमान (भिडियो सहित)

मुखबाट पानीको धारा बगाउने कला १७औं शताब्दीदेखि प्रचलनमा आएको हो । यसमा सुरुमा ठूलो परिमाणमा पानी पिउने गरिन्छ र त्यसलाई मांशपेशीको नियन्त्रणबाट उघ्राउँदै विस्तारै मुखबाट धारा जस्तै बाहिर फ्याँकिन्छ ।

यो काम सजिलो भने छैन र जोकोहीले गर्न सक्दैन । चीनका एकजना ३५ वर्षीय युवाले लगातार ६ मिनेटसम्म मुखबाट पानीको धारा बगाएर विश्व कीर्तिमान कायम गरेका छन् ।

योसँगै मा हुइ नामका ती पुरुषले सबैभन्दा लामो समयसम्म मुखबाट पानी बगाएर गिनिज बुकमा नाम लेखाएका छन् ।

मा हुुइले यतिधेरै लामो समयसम्म मुखबाट पानीको धारा बगाए कि उनको त्यो समय यसअघिको रेकर्ड भन्दा करिब ६ गुणा लामो हो ।

यसअघि यो विधामा इथियोपियाका किरुबेल यिल्माको नाममा विश्व कीर्तिमान थियो र उनले ५६.३६ सेकेण्डसम्म मुखबाट पानी फ्याँकेर विश्व कीर्तिमान कायम गरेका थिए । जबकि मा हुइले ५ मिनेट ५१.८८ सेकेण्डसम्म मुखबाट पानीको धारा फ्याँके ।

यस्तो कीर्तिमान कायम गर्नका लागि मा ले साढे ४ लिटर पानी पिएका थिए । त्यसरी पिएको पानीलाई उनले बिस्तारै उघ्राउँदै मुखबाट बाहिर फ्याँके र त्यसमा मांशपेशीको अब्बल नियन्त्रण सावित गरे।

भिडियो :



from विचित्र संसार – Online Khabar https://ift.tt/75RXWnD

लोकप्रियताको लागि फौजदारी न्याय प्रणालीभित्र छिर्दै राजनीतिज्ञहरू

अभियोजनमा राजनीतीकरणको जोखिम जतिबेला पनि आउनसक्दो रहेछ । आफूलाई अनुकूल हुने व्यक्तिलाई रिहा गरिदिने अनि प्रतिशोध लिनुपर्ने मानिसलाई मुद्दा दायर गर्ने विषय नेपाल प्रहरीमा मात्रै होइन, अरु निकायहरूको हकमा पनि लागू हुनेरहेछ ।

नेपालमा फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गर्ने धेरै निकाय छन्, ती सबै निकायमा राजनीतिक हस्तक्षेप र प्रभाव धेरथोर लागू हुन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग लगायतका निकायमा यस्तो अवस्था देखिएको हुन्छ ।

अहिले विश्वव्यापी लहरसँगै नेपालमा पनि अनुसन्धान र अभियोजनलाई शस्त्र (औजार) को रूपमा प्रयोग गर्न सकिन्छ भन्नेमा राजनीतिज्ञहरू सचेत छन् । भारतमा निर्वाचनको मुखमा यो विषय झनै प्रखर रूपमा आइरहेको छ । हाम्रोमा पनि यसैगरी प्रयोग गर्न सकिन्छ कि भन्ने विषय प्रयोगमा आयो ।

हुन त पञ्चायत कालखण्डदेखि नै गलैंचाकाण्ड लगायत अनेक काण्ड यसैगरी प्रयोग भए भनिएको छ । यही महसूस गरेर फौजदारी अनुसन्धान र अभियोजनलाई औजारको रूपमा प्रयोग गर्छु भन्ने सोचाइ बन्यो भने त्यसका नतिजाहरू समाजका लागि खतरनाक हुनसक्छन् । शक्ति प्रयोग गर्ने निकायहरूलाई यसरी औजारको रूपमा प्रयोग गर्ने हो भने उसले भोलि ठूलो जोखिम निम्त्याउने खतरा हुन्छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पछिल्ला एकाध वर्षका कामकारबाही हेर्ने हो भने यस्तो छनक पाइन्छ । यस्ता निकायहरूलाई किन औजारको रूपमा प्रयोग गरिएको छ भन्नेबारे पनि हामीले कारण खोतल्न सक्छौं ।

मेरो विचारमा, लोकप्रियतावादका कारण यस्तो अभ्यास भइरहेको छ । फौजदारी न्यायप्रणालीको कार्यान्वयन वा प्रयोग गरेर मैले राम्रो काम गरेको छु भनेर समाजमा सन्देश प्रवाह गर्न सकिने रहेछ भन्ने चेत खुलेको धेरै भएको छैन । मैले यस्ता अपराधी समाएँ, यस्तालाई कारबाही गरें भनेर समाजमा लोकप्रिय हुन सकिन्छ भन्ने धारणाको विकास हुन थालेको भर्खरभर्खर नै हो ।

अमेरिका लगायतका मुलुकमा फौजदारी न्यायप्रणालीलाई सुधार्ने, अझै प्रभावकारी बनाउने भनेर राजनीतिक दलहरूले पनि एजेण्डा अघि सारेका हुन्छन् । अर्कोले त्यसको प्रतिवाद गरेर ‘म अझै राम्रो छु’ भन्ने प्रतिस्पर्धा हुन्छ । तर हाम्रोमा यस्तो अभ्यास भएको छैन । अब हाम्रा राजनीतिक नेताहरू बल्ल यसतर्फ लागेका छन् भन्ने छनक देखिंदैछ ।

राजनीतिक चरित्र भएका व्यक्तिले फौजदारी न्यायप्रणालीलाई औजारको रूपमा प्रयोग गर्न खोजे । अर्कोतर्फ लोकप्रियतावादमा टेकेर आफू चर्चामा आउने प्रयत्नमा लागे । गत वर्षको नक्कली भुटानी शरणार्थी प्रकरणपछि राजनीतिक वृत्तमा एउटा कुराको महसूस भएको छ ।

त्यो के हो भने अहिलेसम्म हामीले आफ्नो आलोचक, प्रतिस्पर्धीलाई ठेगान लगाउन यदाकदा फौजदारी न्यायप्रणालीलाई प्रयोग गरेका थियौं । प्रहरी संयन्त्रमा यसो सरुवा, बढुवामा आर्थिक लाभ लगायतका फाइदा लिएका थियौं । कहिलेकाहीं तिनलाई प्रयोग गरेर विचौलियाहरूलाई पोस्न काम लागेको थियो ।

अब भने फौजदारी न्यायप्रणालीलाई प्रयोग गरेर आफ्नो राजनीतिक करियर पनि चम्काउन सकिने रहेछ भन्ने सोच आउन थाल्यो । त्यसबाट आफू पनि लोकप्रिय हुनसक्ने भइयो । नेपालमा यसअघि यस्तो सोच आएको र काम भएको उदाहरण छैन ।

आफ्नो प्रतिस्पर्धी र विरोधीलाई तह लगाउने र आफ्नो मान्छेलाई अनुकूलको ठाउँमा पदस्थापना गर्नेमा नै उनीहरूले फौजदारी न्यायप्रणालीलाई प्रयोग गरिरहेका थिए । अब भने यी काम बाहेक लोकप्रियमुखी क्रियाकलापतिर पनि राजनीतिज्ञहरूले ध्यान दिन थाले ।

यस्तो क्रियाकलापले बढावा पाउनुमा राजनीतिज्ञहरू मात्रै दोषी छैनन् । लोकप्रियमुखी क्रियाकलापमा ज्यादा महत्व दिने र त्यसमै रमाउने आम मानिसको मनोवृत्ति पनि यसको कारक हो । कुनै अपराध भयो भन्ने लाग्यो भने धेरैलाई शंका लागेको मानिस जसरी पनि दण्डित हुनुपर्छ भन्ने सोच विकास भएको छ । अस्ति चितवनमा एक किशोरीको आत्महत्याको घटना यसको उदाहरण हो ।

उनीहरूले सम्बन्धित शिक्षक वा वार्डेनलाई जसरी पनि थुनिहाल्नुपर्ने, कारबाही गरिहाल्नुपर्ने माग बढाउँदै गए, यसले प्रहरीलाई पनि सजिलो भयो । जो कोही थुनेपछि उनीहरू पनि लोकप्रिय हुने भए । यी यस्तै क्रियाकलाप र मनोवृत्तिले सीआईबी लगायतका विशिष्टीकृत अनुसन्धानका लागि स्थापित निकायहरू पनि प्रभावित भएको देखिन्छ ।

नेपाली समाजमा कुनै व्यक्तिप्रति शंका हुनासाथ ‘त्यसलाई थुनिहाल्नुपर्छ’ भन्ने मानसिकता बढ्दै गएको देखिन्छ । यति ठूलो मुद्दा छ, कसैलाई पनि छाड्नुहुँदैन भन्ने मनोवृत्ति हाबी भयो । कसैप्रति अभियोजन गर्नु छ भने हेरेर, केलाएर अनुसन्धान गर्नुपर्नेमा हनुमानले सञ्जीवनी बुटीका लागि पहाडै ल्याएजस्तो सबैलाई गोलमटोल रूपमा मुद्दा चलाउने प्रवृत्ति देखिएको छ

केही महिना अघिसम्म नेपाली समाजले सीआईबीको प्रमुखलाई ‘हिरो’ ठानेको थियो । उहाँजस्तो हिम्मतिलो र साहसी मानिस कोही पनि छैन होला भन्ने भान परेको थियो । तर अहिले आएर ‘पक्राउ हुनुपर्ने महरालाई पनि छाडेको, अर्कोमाथि पनि अनुसन्धान नगरेको’ आरोप लागिरहेको छ ।

तर अस्तिसम्म ‘आइडल’ हुनुको कारण उहाँले जसलाई पनि थुन्न सक्ने हुनुहुँदोरहेछ भनेर हो । तर त्यसको विषयवस्तुमा न बहस भएको छ, न हामीले त्यसबारे बुझ्न नै आवश्यक ठानेका छौं । लोकप्रियतावाद हावी हुने क्रम बढिरहेको बेलामा राजनीतिज्ञहरूले पनि फौजदारी न्यायप्रणालीलाई प्रयोग गरेर आफू राजनीतिमा झनै स्थापित हुनसक्छु कि भन्ने परेको छ ।

यसरी फौजदारी न्यायप्रणालीलाई मनमौजी रूपमा प्रयोग गर्नु समाजका लागि उचित होइन भन्ने दृष्टिकोण राख्ने आवाज निकै कम छ र त्यो दबिएको अवस्थामा छ । ‘यो अनुसन्धानमा खोट छ, त्रुटिपूर्ण अनुसन्धानका कारण निर्दोष मानिसहरू परे’ भन्ने दृष्टिकोण राख्नेहरूलाई प्रहरीले प्रायः अपराधी वा उसको मतियारको नजरले हेर्छ । बदमास बाहेक अरु कसैले पनि यस्तो भन्न सक्दैन भन्ने उसको दृष्टिकोण हुन्छ ।

कहिले पनि वास्तविक अपराधीलाई सजाय सुनिश्चित गर्न पनि अनुसन्धानमा स्वच्छता र तटस्थता आवश्यक पर्छ भन्ने उसले बुझ्न सकेको छैन । यो मानिसलाई पक्राउ गर्नु बेकार हो, उसका विरुद्ध मसँग भएका प्रमाण पर्याप्त छैनन् भन्ने कतिपय अवस्थामा प्रहरीहरूले महसूस पनि गरेका हुन्छन् । तर मुद्दा चलाइहालौं, भोलि जे होला भन्ने मानसिकता व्याप्त छ ।

बयान दिने विषय पनि अब गृहमन्त्रीको निर्देशन चाहिने भयो । अनुसन्धान चलिरहेको विषयमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक बसेर त्यसबारेमा चासो व्यक्त हुन थाल्यो । यो अपराधको राजनीतीकरणको संकेत हो ।

अर्को कोणबाट हेर्दा राजनीति गर्ने मानिसहरूलाई पनि प्रहरीप्रति विश्वास छैन कि भन्ने देखिन्छ । के नियत राखेर अनुसन्धान गरिरहेका छन् भनेर पनि अस्वभाविक चासो र हस्तक्षेप भएको हो कि ? २०७४ सालमा निजामती कर्मचारीको नेतृत्वमा सुन काण्डको अनुसन्धान भयो ।

त्यही अनुसन्धानका आधारमा तयार भएको अनुसन्धान व्यावसायिक र वस्तुपरक देखिंदैन । अपराध अनुसन्धानमा असम्बन्धित व्यक्तिको प्रवेशले सहि नतिजा आउँदैन । राजनीतिज्ञहरू किन फौजदारी न्यायप्रणालीभित्र छिरे भन्ने प्रश्न आउला । यसको प्रयोगबाट लोकप्रिय हुन सकिंदो रहेछ भन्ने बुझेपछि उनीहरूको अस्वाभाविक सक्रियता बढेको देखिन्छ ।

अब हुँदाहुँदा मन्त्रीले नै ‘मैले फलानो फलानोलाई पक्राउ गर्न निर्देशन दिएको हुँ’ भन्न थाले । त्यसो गरेबापत उनीहरूको लोकप्रियता बढ्ने भयो र उनीहरुले भोट पाउने भए । तर यही क्रियाकलापका कारण अपराध अनुसन्धानमा प्रहरीको व्यावसायिकता र विश्वसनीयतामा ह्रास आइरहेको छ । यो कुरा उनीहरूले बुझेनन् ।

अहिले हेर्दा, जोप्रति अभियोजन हुनुपर्ने हो, उसमाथि अनुसन्धान भएको देखिंदैन । अनुसन्धानको दायरामा नै आउन आवश्यक नभएकाहरूलाई अनुसन्धानमा तान्ने, दुःख दिने र मुद्दा चलाउने कामसमेत भइरहेको छ । वास्तविकता के हो भन्ने यकिन गरेर अनुसन्धान अघि बढ्नुपर्नेमा अनुसन्धानकर्ता त विभिन्न बाहिरी प्रभाव, असम्बन्धित व्यक्तिको हस्तक्षेप र पूर्वाग्रहबाट प्रभावित हुनेभयो ।

नेपाली समाजमा कुनै व्यक्तिप्रति शंका हुनासाथ ‘त्यसलाई थुनिहाल्नुपर्छ’ भन्ने मानसिकता बढ्दै गएको देखिन्छ । यति ठूलो मुद्दा छ, कसैलाई पनि छाड्नुहुँदैन भन्ने मनोवृत्ति हावी भयो । कसैप्रति अभियोजन गर्नु छ भने हेरेर, केलाएर अनुसन्धान गर्नुपर्नेमा हनुमानले सञ्जीवनी बुटीका लागि पहाडै ल्याएजस्तो सबैलाई गोलमटोल रूपमा मुद्दा चलाउने प्रवृति देखिएको छ ।

केही प्रश्न उठेमा ‘मेरो काम सकियो, बाँकी कुरा अदालतले हेर्छ’ भन्ने मानसिकता विस्तार भएको देखिन्छ । मुद्दाका कारण मानिसले कति यातना पाउँछ, त्यसको चोट कति हुन्छ भन्ने हेक्का नराख्दा कैयौं निर्दोषहरू मुद्दामा परेका छन्, अनाहकमा समय बर्बाद भएको हुन्छ । यस्ता कामकारबाहीले फौजदारी न्यायप्रणालीको विश्वसनीयतामा नै समस्या पैदा गर्छ ।

अहिलेका घटनाहरूले पनि अनुसन्धान गरिनुपर्ने र अभियोजन हुनुपर्ने खास व्यक्तिहरू बाहिरै रहेछन्, उनीहरूले उन्मुक्ति पाएको रहेछ भन्ने सन्देश प्रवाह भएको छ । एकपछि अर्को घटनामा देखिने यस्ता क्रियाकलापले अनुसन्धानकर्ताको अनुसन्धान र अभियोजनमाथि नै प्रश्न उठ्छ । यसले फौजदारी न्यायप्रणालीको एउटा अंग मानिने प्रहरीप्रति नै विश्वास घट्छ ।

यस्ता क्रियाकलापले निरन्तरता पाएमा समाजमा व्यावसायिक अनुसन्धानकर्ता भन्दा पनि अरु व्यक्तिहरू हावी हुने र अनुसन्धानलाई गलत दिशामा लैजाने जोखिम हुन्छ । त्यस्तो अवस्थामा भीड हावी हुन्छ र भीडले नै अनुसन्धानलाई निर्देशित गर्ने जोखिम बढ्छ । जसलाई पनि ‘थुन्नुपर्ने र समाउनुपर्ने’ मानसिकता हावी हुन्छ । अहिले आत्महत्या दुरुत्साहनका अधिकांश मुद्दामा यस्तै भीड हावी भएको देखिन्छ ।

भीडले निर्देशित गर्दा कुनै निर्दोष विरुद्ध विना प्रमाण मुद्दा चल्ने सम्भावना एकातिर रहन्छ भने भीड र दबाबकै कारण अदालतबाट धरौटीमा छुट्नुपर्ने व्यक्ति पनि थुनामा पर्ने अवस्था रहन्छ । भारतको कानुन आयोगले यसबारेमा एक अध्ययन गरेको थियो ।

थुनछेक बहसका क्रममा सञ्चारमाध्यम र अन्यत्रबाट हुने टीकाटिप्पणीले निष्पक्ष न्याय सम्पादनलाई असर पर्ने उक्त अध्ययनको निचोड थियो । त्यो जोखिम हाम्रोमा पनि कायमै छ । छुट्नुपर्ने कैयौंहरू थुनामा पर्ने रहेछन् भन्ने उनीहरूको निष्कर्ष हाम्रोमा पनि मिल्छ ।

स्वच्छ अनुसन्धान, न्याय, प्रमाणजस्ता विषय प्रहरीको हातखुट्टा बाँध्ने विषय हो भन्ने प्रहरी संगठनमा रहेका कतिपयको बुझाइ छ । यस्ता विषयले प्रहरीलाई झनै शसक्त बनाउनुभन्दा पनि कमजोर र निस्तेज बनाउँछ भन्ने मान्यताले उनीहरूमा जरो गाडेको देखिन्छ ।

तर यथार्थमा अनुसन्धान स्वच्छ भएमा मात्रै अनुसन्धानको नतिजा निस्कन्छ नत्र अपराधीहरू छुटेर निर्दोषहरूले सजाय पाउने अवस्था हुन्छ भन्ने पाटो उनीहरूले बुझ्न खोज्दैनन् । गलत अभियोजन हुँदा दोषीमाथि कारबाही हुनुभन्दा पनि निर्दोष फस्ने सम्भावना ज्यादा हुन्छ । आफूले दायर गरेको मुद्दा ठहर हुनलाई पनि स्वच्छ र प्रभावकारी अनुसन्धान आवश्यक छ ।

अनुसन्धानकर्ताहरू प्रायः अदालतको आदेश, त्यहाँबाट प्रतिपादन हुने नजीर र मान्यताहरूप्रति सचेत हुन खोजेको देखिंदैन । जतिसुकै मुद्दा हारे पनि, अदालतले यो विषयलाई त प्रमाण मान्न मिल्दैन भनेपछि उनीहरूले त्यही गल्ती दोहोर्‍याइरहेका हुन्छन् । अभियोजनको नतिजाभन्दा पनि काम सकाउनु र संख्या बढाउनुमै उसको ध्यान केन्द्रित छ ।

नेपाली समाजमा अनुसन्धान र अभियोजन गर्नेहरू कतै जवाफदेही हुनुपरेको छैन । उनीहरूको कामकारबाही सार्वजनिक बहसको विषय बनेको पनि छैन । मुद्दा दायर गरेको भोलिपल्टदेखि अनुसन्धानकर्ता र अभियोजनकर्ता सम्बन्धित मुद्दामा उदासीन हुनु भनेको ऊ आफूले गरेको कामप्रति अनुत्तरदारी हुनु पनि हो ।

हामीले अंगालेको फौजदारी प्रणालीमा कोही मानिस दोषी हुनु भनेको अनुसन्धानको सफलता हो । अदालतले निकै तटस्थताका साथ न्यायसम्पादन गर्छ भन्ने मान्यता राखिन्छ ।

अहिले कतिपय अपराध अनुसन्धानमा गृहमन्त्रीले जस लिन खोजेको देखिन्छ । नियमित काममा समेत गृहमन्त्रीको ‘ग्रीन सिग्नल’ आवश्यक पर्छ भने प्रहरीको विश्वसनीयतामा प्रश्न उठ्नु स्वाभाविक हो । कुनै व्यक्ति पक्राउ पर्दा ‘गृहमन्त्रीको सुशासनप्रतिको प्रतिबद्धताको नतिजा’ भनी विज्ञप्ति निकालिएको थियो । कसैको सुशासनको एजेण्डा अन्तर्गत अपराध अनुसन्धान हुने हो र ?

बहालवाला सभामुख र निवर्तमान गृहमन्त्री पक्राउ हुनु आफैंमा प्रहरीको व्यावसायिकताको उदाहरण हो । तर त्यही निर्णयमा कुनै राजनीतिक आशीर्वाद रहेछ वा दबाब रहेछ भने प्रहरीले आफ्नो विश्वसनीयता घटाउँछ ।

अहिलेसम्म हाम्रा राजनीतिक दलहरूले एक अर्कालाई सिध्याउन वा नोक्सान पार्न फौजदारी न्यायप्रणालीलाई आफू अनुकूल प्रयोग गरेको उदाहरण खासै थिएन । तर विस्तारै फौजदारी न्यायप्रणालीलाई प्रयोग गरेर राजनीतिक लाभ लिन खोजियो भने यसले लोकतन्त्रमा प्रतिस्पर्धाको वातावरण बिथोल्छ । राजनीतिक हस्तक्षेपका कारण फौजदारी न्यायप्रणालीका संरचनाहरू पनि निकम्मा हुन्छन् ।

(कानुनका अध्यापक एवं अधिवक्ता खतिवडासँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)



from विचित्र संसार – Online Khabar https://ift.tt/9geaudC

Advertise Here

Advertise Here

m r

 
Support : Creating Website | Harpalkokhabar Template Copyright © 2015. हरपलको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Harpalkokhabar Template
Proudly powered by Blogger